भोजपुरका सांसद किराँती अझै पनि घरदैलो कार्यक्रममै


भोजपुर । निर्वाचनपश्चात सांसदहरु सबै काठमाडौं केन्द्रित भएका छन् । स्थिर र बलियो सरकार बनाउने भन्दै निर्वाचनअघि वामघठबन्धन बनाई निर्वाचनमा होमीएका नेकपा एमाले र माओबादी केन्द्रको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको छ ।

यो सँगै नेकपा एमाले र माओबादी केन्द्रबाट निर्वाचित सांसदहरुले पार्टी एकीकरण हुने र नभएपनि बाम गठबन्धनको सरकार बन्ने बताउँदै आएका छन् । अब बन्ने केन्द्रिय र प्रदेश सरकारको मन्त्री पाउनु पर्ने मागसहित पार्टी नेतृत्वलाई फुर्काउन, दङ्ग्याउन र घुर्काउन सांसदहरु यतिबेला सक्रिय छन् ।

तर, भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सुदन किराती भने अहिले पनि मतदाताको घर दैलोमा नै छन् । आफुलाई निर्वाचित गराएकोमा धन्यावाद दिँदै र जनताको अपेक्षा सुन्नमै उनी व्यस्त छन् ।

एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेश रहेको भोजपुरमा तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश नं १ मा एमालेका राजेन्द्रकुमार राई र प्रदेशतर्फ क्षेत्र नं २ मा एमालेकै शेरधन राईले निर्वाचन जितेका हुन् ।

विजयी भएपछि प्रदेश र प्रतिनिधि सभाका तिनै जना सांसद गाउँपालिका स्तरिय विजयीसभामा सहभागीता जनाएपनि एक नम्बर प्रदेशको मुख्य मन्त्रिका दावेदारका रुपमा रहेका शेरधन राई भने मुख्यमन्त्रिका लागि लविङ गर्न काठमाडौं फर्कीएका थिए ।

को हुन् किराती ?
-दश बर्षे जनयुद्धमा लामो समय जेल जिवन विताएका किरातीले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि सदनमा पहिचान र संघीयताका मुद्धा कडा रुपमा उठाउने साभासदका रुपमा आफ्नो परिचय बनाएका थिए ।

-पहिलो संविधानसभामा शेरधन राईलाई पराजित गरेका किराती दोश्रो संविधानसभा निर्वाचनमा शेरधन राईसँगै पराजित भए ।

-दोश्रो संविधानसभा निर्वाचनमा पराजित भएका किरातीले माओवादी फुटको चरम चपेटामा परेको भोजपुर जिल्लामा पार्र्टी सुदृढीकरणमा सक्रिय भएर लागे । जसका कारण स्थानीय निर्वाचनमा नौ स्थानीय तहमध्ये एक तहमा पालिकाप्रमुख र उपप्रमुखसहित बहुमत सदस्य र दुई स्थानीय तहमा उपप्रमुखसहित बहुमत सदस्य निर्वार्चित गराउन उनी सफल भए । नौ वटै तहमा वडा जितेर माओवादीले भोजपुरमा बलियो उपस्थिति देखायो ।

-विकास निर्माणमा चासो दिने उनले भुकम्प, आगलागी लगायतका विपतमा राहत तथा पुनस्थापनामा पनि जनतालाई सहयोग गर्दै आएका छन् ।

हार्दा पनि जित्दा पनि जनताको घरदैलोमा रहने नवनिर्वाचित साँसदलाई अव बन्ने केन्द्रिय सरकारको मन्त्रि बनाउनुपर्ने स्थानीयको माग छ । माओवादी केन्द्रनिकट काठमाडौं भोजपुर सम्पर्क मञ्चले पनि किरातीलाई मन्त्री बनाउन आग्रह गरेको छ ।

भोजपुरका जनता र समग्र नेपालीको समृद्धिको लागि आफूले जुनसुकै जिम्मेवारी पुरा गर्ने किरातीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार