चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुस १८ गतेदेखि रातको समयमा यातायात बन्द गरिने भएको छ। सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय भएको सरोकारवालाहरुको बैठकले राति ५ घन्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो। बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो। बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाउने निर्णय गरेको छ। त्यस्तै बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ।
ठेकेदार कम्पनीका प्रतिनिधिहरुले भने दिउँसो ८ घन्टा सवारी रोकेर काम गर्न दिन माग गरेका थिए।प्रजिअ भट्टले काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको र यसअघि गरिएका निर्णयलाई कार्यान्वयन नगरिएको बताउँदै कामलाई तीव्रता दिन आग्रह गरेका छन्। ुहामी निर्णय गर्दै जान्छौँ, त्यो कार्यान्वयन हुँदैन। काम पनि हुन सकेको छैन,ु उनले भने, ुजनताले पनि दुःख पाएका छन् नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख यादवले विगतमा नाकाबन्दी, चक्काजाम, इन्धन अभावका कारण कामको प्रगति हुन नसकेको बताउँदै चालु आर्थिक वर्षमा पनि वर्षा, चाडपर्व र निर्वाचनले गर्दा सोचे जति काममा प्रगति हुन नसकेको स्पष्ट पारे।उनका अनुसार हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको छ। पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ।उक्त सडकखण्डको १६ किलो र २२ किलोमा ५ सय मिटर र ३३ किलोमा ३ सय मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ। सो सडक तीन पत्र कालोपत्र गरिँदै छ। राजधानी प्रवेशको ‘लाइफलाइन’का रुपमा यो सडकलाई लिने गरिन्छ।