१ फागुन, अछाम ।
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालिका पुर्ण साक्षर वडा घोषणा गरिएको छ । वडामा जम्मा जनसंख्याको ९६ प्रतिशत जनता साक्षर भएपछि वडालाई आज एक कार्यक्रमका बिच साक्षर वडा घोषणा गरेको हो ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालिका वडा अध्यक्ष लाल कामीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अथिती रहनु भएको थियो ।
प्रमुख अथितीको रुपमा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले शिक्षा बिना मानिस अधुरो र अपुरो हुने भएकाले सबैले यस महान कार्यलाई सिरोधार्य गर्दै सबै नागरिक सिक्षाको पहुचमा जोडिन उहाँले आग्रह गर्नु भयो । उनले शिक्षा ग्रहण गर्न उमेरले कुनै प्रबाह नगर्ने भएकाले बाँकी निरक्षरहरुलाई छिट्टै साक्षर बन्न आग्रह गर्नुका साथै नव साक्षरहरुलाई बधाई तथा धन्यवाद दिनु भएको छ ।

अब पनि निरक्षर भन्नेहरुलाई गाउँपालिका सरकार र वडा कार्यालयबाट दिईने सेवा सुविधा र विभिन्न अवसरहरुबाट बञ्चित हुने बताउनुभयो । कालो अक्षर चिन्नु र गाउँपालिका र वडा लाई साक्षर घोषणा गर्नु मात्रै पूर्ण साक्षरता नभएको भन्दै परिवर्तन लाई उपभोग गर्नु र ब्यावहार परिवर्तन गरि निरन्तरता दिनु प्रमुख कुरा भएको बताउनुभयो । कालिकाका सम्पुर्ण स्थानिय जनताहरुको सक्रियतामा तोकिएको समयमा वडा लाई साक्षर घोषणा गर्न सफल भएकोमा बधाई समेत दिनुभयो ।
शिक्षा बिना मानव जीवन अधुरो हुनेभएकाले यसमा सबैले निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष खड्काले यहि फागुन १० गते भित्र गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गरिने भएकोले अबका दिनमा कोहि कसैले पनि हस्ताक्षर गर्न जान्दैन भन्न नपाईने उल्लेख गर्नुभयो । सामाजिक, राजनीतिक अराजकतालाई निश्तेज गरेर समयमै परिवर्तनलाई आत्मसाथ गरि अघि बढ्ने प्रयत्न गर्नुपर्ने अध्यक्ष खड्काको भनाइ थियो ।
सभ्य, समतामूलक र सुसंस्कृत समाज बनाउनका लागि ब्यावहारिक शिक्षा हासिल गर्न र ब्यावहारगत सुधार गर्न आवस्यक रहेको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो । अधिकारको कुरा संग संगै जिम्मेवारी र दायित्वबोध गर्दै कर्तब्यपालन गर्नुपर्नेमा उहाँको जोड थियो । फरक प्रसंगमा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले वडानम्वर ५ कालिकाको विकासका लागि पालिकाले बिशेश प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा तत्कालिन कालिका गाबिस अध्यक्ष तथा पुर्ब जिल्ला बिकास समिती सदस्य जगत बहादुर रावल बिशिष्ट अथिती रहनु भएको थियो । यस्तै अन्य अथितीहरुमा कालिकाका वडा सदस्य दान बहादुर रावल,पशुपति रावल,कहरे साउँद, नेकपा जिल्ला कमिटी सदस्य निर्मला रावल,शिक्षक, विद्यार्थी अभिभावक ,बुद्धिजिबी,राजनितीक दल, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
वडा अध्यक्ष लाल कामिले वडाकाे समग्र बस्तुस्थिति सहित साक्षरता अवस्था बारेकाे प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।वडा सदस्य दान बहादुर रावलको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन कृर्षी विकास शाखा जयगढका कृर्षी प्राविधिक दिपक कसाराले गर्नु भएको थियो ।