‘हाम्रो विजयलाई कसैले पनि रोक्न सक्नेछैन’ – नेत्र बिक्रम चन्द ‘विप्लव’ (ताजा अन्तर्वार्ता )

२५ औँ जनयुद्ध दिवसका अवसरमा विशेष अन्तरवार्ता

  झझल्को न्युज डेस्क  1668 पटक हेरिएको

नेपालमा शोषित-पिडित र उत्पीडित लगायत सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने मूल उद्देश्यका साथ् २०५२ साल फागुन १ गतेदेखि दिर्घकालिन जनयुद्ध घोषणा भएको थियो। त्यस जनयुद्धले अन्य राजनीतिक पार्टीहरुको सहयोगमा नेपालमा जरो गाडी बसेको तानाशाही र निरङ्कुश राजतन्त्रको समाप्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्यो। नेपाल संघीय लोकतान्त्रिक गणतान्तिक युगमा प्रवेश गरेको अवस्थामा सबैले नेपाली रास्ट्रियता बलियो हुने, सबै नेपाली एकजुट भएर मुलुकलाई बिकसित र संवृद्ध बनाउन लागिपर्ने आशा र बिश्वास गरेका थिए। तर मुलुकमा संघीय लोकतान्त्रिक गणतान्तिक ब्यबस्था आएपछि नेपाली रास्ट्रियता कमजोर हुँदै गएको शोषित-पिडित र उत्पीडित जनता झन् दब्बिएर बस्नुपर्ने अवस्था आएको, चौतर्फी रुपमा अन्याय, अत्याचार, भ्रस्टाचार, महंगी, शोषण र उत्पीडन बढेको जस्ता कैयौं जनगुनासाहरु बढिरहेका छन्।

मुलुकमा नाम मात्रको भए पनि कम्युनिष्टको दुई-तिहाइको सरकार रहेको छ। तर जन असन्तुष्टि घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ। दिन प्रतिदिन नेपाली जनताले रास्ट्रियता समाप्त पार्ने एमसीसी सम्झौता, अरबौं ठगी गर्ने एनसेल, प्रधानमन्त्री निवास बालुवाटार बेचिखाने उच्च राजनीतिक नेतृत्व र दलालका बिरुद्ध एक भएर चरणबद्ध आन्दोलन गरिरहेका छन्। तर आफ्ना पार्टीका नेता संलग्न रहेको आशंकामा सत्तारुढ नेकपाले जनताका ती आन्दोलनप्रति सरकारमार्फत दमन गरिरहेको छ।

यसै सन्दर्भमा सरकारद्वारा प्रतिबन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि २५ औं जनयुद्ध दिवस मनाउने तयारी गरिरहेको छ। यसै सन्दर्भमा रातोखाबर साप्ताहिकले बिद्रोही नेकपाका महासचिव बिप्लवसंग गरेको अन्तर्वार्ता प्रकाशित गरेको छ। प्रस्तुत छ साभार गरिएको उक्त अन्तर्वार्ताको अंश….

महासचिव कमरेड, २५ औँ जनयुद्ध दिवस आइपुग्यो । कसरी मनाउँदै हुनुहुन्छ ?

जनयुद्ध दिवस गौरवपूर्ण दिन हो । यसैमा एकीकृत जनक्रान्तिको विकास थपिएको छ । सिद्धान्तमा व्यवहार, विचारमा भावना र बलिदानमा विजय मिसिएको दिवसलाई नयाँ भावमा मनाउँदैछौँ ।

पार्टी प्रतिबन्धभित्रको दिवसको अनुभूति कस्तो गर्नुभएको छ ?

एकदमै फरक अनुभूति भएको छ । जनयुद्धका महान् सहिद तथा बेपत्ता योद्धा र घाइते योद्धाहरूको बलिदानमा एकीकृत जनक्रान्तिको रगत, सपना र मेहनत मिसिएको छ । यति गह्रुङ्गो अनुभूति विरलै हुन्छ ।

सहिद तथा बेपत्ता योद्धा परिवार, घाइतेहरूसँग यो दिवसको सम्बन्ध विशेष छ । कसरी सम्झिनुहुन्छ ?

अधुरो क्रान्तिको मार्गलाई पकडेर नयाँ क्रान्तिमा लम्किरहेको समयमा महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रति विशेष श्रद्धा गर्दै स्मरण गर्न चाहन्छु । सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूलाई जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै पार्टीका नेता–कार्यकर्ता, आमश्रमिक जनता, मित्रशक्तिहरूप्रति जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दछु ।

माओवादी आन्दोलनबारे कस्तो महसुस गर्नुहुन्छ ?

क्रान्तिले नकारात्मक पात्रहरूलाई इतिहासको पर्दाभित्र पटाक्षेप गरिदिन्छ र आफ्नो कार्यभार नयाँ उत्तराधिकारीहरूलाई जिम्मा लगाइदिन्छ । हामी त्यही युगीन कार्यभार पूरा गर्ने गहन जिम्मेवारीमा जुटिरहेका छौँ ।

देशमा जनअधिकार र राष्ट्रियताको विषय जटिल भएको छ । कसरी सोचिरहनुभएको छ ?

जनतालाई हराइएपछि जनअधिकार र राष्ट्रियता निकै कमजोर बिन्दुमा पुगेका छन् । जनतामाथि फासिवाद लादिएको छ । केपी वलीको सामाजिक दलाल सरकार झूट्टा मुद्दा, व्यापक गिरफ्तारी, हत्या–आतङ्कमा उत्रिएको छ । केपी सरकार देशलाई बेचेर खाने, दलाली गर्ने र कुर्सी बचाउने अनैतिक खेलमा लागेको छ । हाम्रो पार्टीले सबै मोर्चामा प्रतिरोध गरिरहेको छ । जनताले सत्य बुझ्दै गएका छन् र प्रतिरोध शक्तिशाली बन्दै गएको छ ।

नेकपामाथिको प्रतिबन्ध यथावतै छ । तपाईंहरूलाई कस्तो प्रभाव परेको छ ?

प्रतिबन्ध नेपालका फासिस्ट शासकहरूको नकारात्मक इतिहासको भद्दा रूप हो । सारा राजनीतिक शक्तिहरूको विरोध–प्रतिरोधका कारण प्रतिबन्ध औचित्यहीन एवम् प्रभावहीन बन्दै गएको छ । तथापि जनतालाई सहज ढङ्गले विचार राख्ने, न्यायपूर्ण सङ्घर्ष गर्ने र पार्टीको नेतृत्वमा सडकमा आउन गाह्रो भएको छ । यसतर्फ सबैको ध्यान जानुपर्छ ।

नेकपालाई शान्तिपूर्ण कार्यक्रम पनि गर्न नदिएपछि सङ्घर्ष हिंसात्मक नै गर्नुपर्ने बाध्यता आएको हो ?

केपी वली सरकारले हिंसाको विषयलाई त केवल बहाना मात्र बनाएको हो । वास्तविक रूपमा यो सरकार हाम्रो पार्टीको लोकप्रियता, जनआकर्षण, जनसङ्घर्षबाट अत्तालिएको छ । हामीले त सबैसामु खुलेआम राखेका छौँ– केपी सरकारले राजनीतिक कार्यक्रम गर्न दिनुपर्छ । हामी जनताको आवाज शान्तिपूर्ण तरिकाले बुलन्द गर्न तयार छौँ । यसो भनेर अहिले नगरेको होइन, देशमा खुला कार्यक्रमहरू पनि भइरहेकै छन् । तर केपी सरकार हिंसा मच्चाएर जनताको न्यायपूर्ण सङ्घर्षलाई बन्दुकको बलमा दबाउन चाहन्छ । दमनको समाधान विद्रोह हो । यो त हामीले प्रस्टै भनेका छौँ ।

पार्टी नेताहरूको हत्या, गिरफ्तारी, जेलनेलले कतिको समस्या पारेको छ ? क्षति हेर्दा कठिनाइ परेको हो कि भन्ने पनि अनुमान गरिन्छ बाहिर ।

हो, प्रतिबन्धपछि हाम्रोतर्फ केही गम्भीर क्षति भए । कमरेड कुमार पौडेल, कमरेड महान, कमरेड नीरकुमारलगायत एक दर्जन नेता–कार्यकर्ता, कमान्डर र सदस्यहरूको सहादत भएको छ । केन्द्रीय नेताहरू कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, शिलु, रणवीर, आदर्श, माइला, प्रज्वलन, हितमान, सुवास, बन्धु, दीपेशलगायत पार्टीका सयौँजना कमरेडहरू हिरासत र जेलमा हुनुहुन्छ । तर हामीले आफूलाई समाल्दै, सुदृढ गर्दै र रूपान्तरण गर्दै एकीकृत जनक्रान्तिलाई माथि उठाउँदै गएका छौँ । बलिदान र क्षतिले पार्टीमा केही कठिनाइ स्वाभाविक रूपमा आउँछन् तर बलिदान र क्षतिले पार्टीलाई खार्ने र ऊर्जा भर्ने काम पनि गर्दछन् । हाम्रो विजयलाई कसैले पनि रोक्न सक्नेछैन ।

केही क्षतिले पार्टीलाई धक्का दिएकै देखिन्छ नि, होइन र ?

निश्चय नै । तर मैले भनेँ नि क्रान्तिमा घेरा–प्रतिघेरा, दमन र प्रतिरोध, क्षति र उपलब्धि, पराजय र विजय अनिवार्य कुरा हुन् । कहिलेकहीँ अनावश्यक क्षति हुँदा गम्भीर पनि बनाउँछ परन्तु धक्कालाई शिक्षामा बदल्न सके विजयहरू आइपुग्छन् । हामीले त्यस्तो सफलता प्राप्त पनि गरेका छौँ ।

नेकपाका नेता–कार्यकर्ताहरूले प्रतिकूल परिवेशमा कठोर सङ्घर्ष गर्नु परिरहेको छ । नेता–कार्यकर्ताहरूको अवस्था कस्तो पाउनुहुन्छ ?

कुनै पनि क्रान्ति सत्तासीन वर्गसँग भीषण टक्कर नलिएसम्म पूरा हुँदैन । जुन वर्गले आफ्नो विचारअनुरूप सत्ताका लागि लड्ने असल, इमानदार, सङ्घर्षशील, त्यागी नेता–कार्यकर्ता तयार गर्न सक्छ उसैले विजय हासिल गर्छ । आजको नेपालमा त्यस्ता नेता–कार्यकर्ता हामीसँग हुनुहुन्छ । हाम्रा नेता–कार्यकर्तासामु अनेकौँ कठिनाइ र प्रतिकूलताहरू छन् तर हाम्रा कमरेडहरू तिनलाई पचाउँदै, झेल्दै सानदारसँग अगाडि बढिरहनुभएको छ । त्यसैले यो क्रान्ति र प्रतिक्रान्तिको लडाइँमा हाम्रो विजय हुनेछ ।

तर पार्टीका केही नेताहरू आत्मसमर्पण गरी पार्टी छोडेर सरकारी नेकपामा प्रवेश गरिरहेका छन् । उनीहरूले पार्टीले युद्धको बाटोमा मात्र जोड दिएको प्रचार पनि गरिरहेका छन् त ?

हो, केही कमरेडहरू एउटा अवधिसम्म हामीसँग रहे । उनीहरूले एक चरण आत्मसमर्पणवाद, विसर्जनवाद, संशोधनवादका विरुद्ध विद्रोह गरे । त्यसले उनीहरूलाई पनि राम्रै भएको थियो, पार्टीलाई पनि राम्रै गरेको थियो तर क्रान्तिले नयाँ जोड पकड्न थालेपछि उनीहरूको विद्रोहले थेग्न सकेन । उनीहरू सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक विद्रोह गर्नसम्म सक्षम थिए तर सत्ताका विरुद्ध क्रान्ति गर्ने, विद्रोह गर्ने स्तरमा तयार रहेनछन् । उनीहरू तर्सिए, गले र जसका विरुद्ध विद्रोह गरेर क्रान्तिकारी प्रतिष्ठा बनाएका थिए उतै गएर लम्पसार परे । यस्तो प्रवृत्तिबाट कुनै पनि क्रान्ति अपवाद हुनसक्दैन । यसलाई पचाएर नै पार्टीले आफूलाई परिपक्व र अपराजेय बनाउने हो । तर क्रान्तिमा आत्मसमर्पण गर्ने मात्र देखिएनन् अन्य पार्टीबाट विद्रोह गरेर क्रान्तिको मोर्चामा आबद्ध हुन आइपुग्ने कमरेडहरू पनि प्रसस्त छन् । जहाँसम्म पछि फर्किने साथीहरूले गर्ने प्रचार छ त्यसको कुनै तुक छैन । एउटा सपाट र सोझो सत्य के हो भने रत्नपार्क, खुलामञ्च, राष्ट्रिय सभागृहमा भाषण, नाराजुलुस र नाचगान गरेर जनताले राज्यसत्ता प्राप्त गर्न सक्दैनन् । क्रान्ति हाँक्ने कार्य जति गौरवपूर्ण छ त्यत्तिकै चुनौतीपूर्ण पनि छ । चुनौती उठाउन नसक्नेले बढी बोल्नु आफैँलाई दुःख दिनु मात्र हो ।

केही नेता–कार्यकर्ताले पार्टीभित्र आर्थिक हिनामिना गरेको र कारबाही गर्नुपरेका समाचार पनि आए नि, के होला ? के आर्थिक विचलनका समस्या बढेका हुन् ?

हो, पार्टीभित्र केही गम्भीर खालका आर्थिक समस्याहरू देखिने गरेका छन् । तर पहिलेभन्दा बढेको भन्ने होइन । पार्टीले निकै राम्रो आर्थिक प्रणाली विकास गरेको छ । यसको विकास पनि तीव्रतामा भइरहेको छ । समस्याहरू पत्ता लाग्नु पनि पार्टी बन्दै गएको चिह्न हो । जसले जे गरे पनि पच्ने अवस्था छैन । तर द्रव्यमोह निकै शक्तिशाली हुन्छ । आफैँले लिएको विचार, सिद्धान्त र लक्ष्यभन्दा द्रव्यमोह माथि भयो भने नेता–कार्यकर्ताहरू विचलनमा भासिन पुग्छन् । यसले पार्टीलाई क्षति पनि गर्छ । केही यस्ता दृश्यमा आएका छन् । केही अदृश्य पनि हुनसक्छन् तर पार्टीले समाधान गर्दै जान्छ । ठूलाठूला शुद्धीकरण गरेर समस्याहरूलाई समाधान गर्न सकिन्छ ।

सरकारले त बेलाबखत पार्टीलाई कमजोर बनायौँ पनि भन्ने गरेको छ नि ?

को कमजोर र को बलियो भन्ने विषय क्रान्ति बढ्दै जाँदा थाहा हुन्छ । सैद्धान्तिक रूपले भन्दा आत्मसमर्पणवाद, संशोधनवाद, सामाजिक दलाल चरित्र कमजोर प्रवृत्ति हो । आज जुन व्यवस्था छ भोलि त्यो हुनेछैन । आज जुन छैन भोलि त्यो हुनेछ । केपी सरकार र सरकारी नेकपा दिन–प्रतिदिन कमजोर बन्दै गएको देखिँदैछ ।

अमेरिकी एमसीसी परियोजनाको विरोध गर्नुभएको छ, किन ? अनि अब कसरी बढ्नुहुन्छ ?

एमसीसी देशमा सङ्कट हुल्ने परियोजना हो । यसले अमेरिकासँगको सम्बन्धलाई मात्र बिगार्दैन, चीन र भारतसँगको सम्बन्धलाई पनि बाधा हाल्छ । नेपाली सेना, नेपाली अदालत, प्रशासन र जनतालाई पङ्गु बनाउँछ । यसर्थ यो राष्ट्रघाती छ । केहीले यसलाई चीन घेर्ने अमेरिकी योजना मात्र भनेका छन्, यो सत्य होइन । यसका राष्ट्रिय आयाम पनि छन् जसको दीर्घकालिक मारमा सरकारी नेकपा पनि पर्ने नै हो । त्यसैले यसलाई रोक्नुपर्छ ।

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मिचेको विषय छायामा परेजस्तो भयो नि ?

होइन, हाम्रो पार्टीले भारतीय साम्राज्यवादी अतिक्रमणका विरुद्ध देशव्यापी जागरण अभियान चलाइरहेको छ । जनताको साथ–सहयोग पनि राम्रो छ तर दलाल केपी सकरकार त राष्ट्र बचाउने सङ्घर्षमा आउनुको साटो हामीमाथि दमन गरेर भारतलाई रिझाउने अनैतिक कार्यमा लागेको छ । हेर्नुस्, साम्राज्यवादी शक्तिहरूले कमजोर देशमाथि अतिक्रमण गर्दा कहिलकहीँ मोर्चा बनाएर संयुक्त रूपले अतिक्रमण गरेका दृष्टान्तहरू पनि छन् । यतिबेला कालापानी क्षेत्रको भारतीय हस्तक्षेप र अमेरिकी एमसीसी ९सहस्राब्दी चुनौती परियोजना० को कानुन पारित गर्ने विषय भित्री साँठगाँठमा भएका छन्–छैनन् भनेर हेर्नुपर्ने भएको छ । हामीले जागरणमा यसलाई पनि जोडेका छौँ ।

सरकारी नेकपाभित्र एमसीसीका विरुद्ध लड्ने केही नेताहरू पनि देखिएका छन् नि, कसरी हेर्नुहुन्छ ?

यो खुसीको कुरा हो । राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने नेता–कार्यकर्ताहरू धन्यवादका पात्र छन् । उनीहरू अन्तिमसम्म लड्न सक्छन् कि सक्दैनन् भन्ने कुराले अरू महत्व राख्छ । उनीहरू आफ्नो अडानमा उभिऊन्, हामी सहकार्य गर्न तयार छौँ ।

ललिता निवासकाण्डमा अख्तियारले गरेको निर्णयबारे वक्तव्य दिएर विरोध गर्नुभयो नि, किन ?

ललिता निवासले अनेकौँ अनुहारहरू देखाइदिएको छ । पहिलो त यो ललिता निवासकाण्ड देशकै बेइज्जत गर्ने परिघटना हो । प्रधानमन्त्री कार्यालयको जग्गासमेत बेचर खाने मान्छेहरूको हातमा देश छ । चाहे पहिलेका होऊन्, चाहे अहिलेका । अर्को कुरा, अख्तियारले जुन निर्णय ग¥यो त्यसमा सरकारी पार्टी, विशेषतः केपी वली पक्षको प्रभाव प्रस्ट देखिन्छ । केपीले यो काण्डलाई काङ्ग्रेस र आफैँभित्रका विरोधीहरूलाई समाप्त पार्ने हतियारका रूपमा प्रयोग गरेको देखिन्छ । भ्रष्टहरूलाई त कडाभन्दा कडा कारबाही गर्नैपर्छ तर पक्षपात नगरेर ।

एनसेललाई निरन्तर कारबाही गर्नुभएको छ तर उसले त कर तिर्ने भनेको सुनिन्छ नि ?

एनसेलले राज्यलाई पौने एक खर्ब तिर्नुपर्छ भनेर त प्रधानन्यायाधीशको नेतृत्वमै फैसला सुनाइएको हो । अनि किन अहिले बाईस अर्बको कुरा मात्र आएको छ रु यो निकै गम्भीर छ । यसमा वली सरकारकै साँठगाँठ देखिन्छ । एनसेलले जनतालाई ठगेसम्म कारबाही रोकिँदैन ।

यतीकाण्डबारे के सोचिरहनुभएको छ नि ?

केपी सरकार त काण्डे सरकार भइसक्यो । एनसेलकाण्ड, निर्मलाकाण्ड, वाइडबडीकाण्ड, सुनकाण्ड, चिनीकाण्ड, यतीकाण्ड सबै वली सरकारका रकम कमाउने खेती बनेका छन् । यिनको समाधान वलीको आदेशमा चल्ने सरकारी संस्थाबाट सम्भव छैन । जनताको अदालतबाट समाधान गर्नुपर्छ ।

महँगीले जनतालाई सास फेर्नै गाह्रो भइसक्यो । के सोचिरहनुभएको छ नि ?

हाम्रो पार्टी लगातार महँगी, कालोबजारी, तस्करी, लागूपदार्थ दुव्र्यसनजस्ता समस्याका विरुद्ध सङ्घर्षमा छ । यी समस्याले जनता चल्नै नसक्ने बन्दै गएका छन् । केपी सरकार चलिरहेमा देशको अवस्था वर्बाद हुँदै जानेमा कुनै शङ्का नगरे हुन्छ ।

आजको परिस्थितिमा सेना–प्रहरीले कसरी सोच्नुपर्छ भन्ने ठान्नुहुन्छ ?

देशको स्वाधीनता धरापमा छ । जनता कुशासनबाट प्र्रताडित छन् । भ्रष्टहरूको रजाइँ गाउँदेखि केन्द्रसम्म चलेको छ । जनतामाथि खुलेआम लूट छ । एनसेललगायतले ब्रह्मलूट मच्चाएका छन् । यस्तो अवस्थामा सेना–प्रहरीहरूले कसरी सोचिरहेका होलान् भन्ने गम्भीर उत्सुकता सबैमा छ । हामी चाहन्छौँ– दलाल, राष्ट्रघाती, भ्रष्ट, माफिया, तस्करहरूविरुद्ध सेना–प्रहरीले पनि लड्न तयार हुनुपर्छ ।

मित्रशक्तिहरूसँगको सम्बन्ध र सहकार्य कसरी अघि बढिरहेको छ ?

दिन–प्रतिदिन मित्रशक्ति र मित्र पार्टीहरू बढ्दै गएका छन् । उहाँहरूसँग विभिन्न स्तरमा सहकार्य भइरहेकै छ । यसलाई अरू सुदृढ गर्नमा हामी तयार नै छौँ । यस दिशमा राम्रो सम्भावना देखिएका छन् ।

सर्लाहीका जुझारु नेता कमरेड कुमार पौडेलको मुद्दामा राष्ट्रिय मानवअधिकार आयोग र अधिकारवादी संस्थाले हत्याराहरूलाई कारबाही गर्न सरकारलाई दबाब दिइराखेका छन् । यसलाई कसरी लिनुभएको छ ?

कमरेड कुमार पौडेललाई सीधा शैलेन्द्र खनालको आदेशमा इन्स्पेक्टर कृष्णदेव साहको टोलीले योजनाबद्ध रूपले गोली हानी हत्या गरेको हो भन्ने त छ्याङ्छ्याङ्ती देखिसकियो । मानवधिकारवाद आयोग र अधिकारवादी संस्थाले समेत उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही गर भनिसके । यस हदसम्म मानवअधिकार आयोग र संस्थालाई धन्यवाद नै दिनुपर्छ । तर हत्याका पछाडि दुईखाले अनुहार छन् ? एउटा कृष्णदेव साहहरूको हत्यारो अनुहार, अर्को भित्र बसेर पुलिसलाई गोली हान्ने योजना बनाउने र उक्साउने योजनकारहरूको अनुहार । हामीसँग तथ्यहरू आइरहेका छन् । यिनीहरूलाई कारबाही हुनुपर्छ ।

यतिबेला पार्टीको योजना के छ ?

हाम्रो पार्टी देशको स्वाधीनता र जनताका अधिकारका लागि सारा वामपन्थी, देशभक्त, लोकतान्त्रिक र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध पारेर दलाल पुँजीवादी सत्ताको जरो उखेल्ने र वैज्ञानिक समाजवादको स्थापना गर्ने उद्देश्यमा केन्द्रित छ । पार्टीका समग्र कामहरू उत्साहपूर्वक अगाडि बढिरहेका छन् । केपी वली सरकारका राष्ट्रघाती, जनघाती कार्यले गर्दा क्रान्तिकारी परिस्थिति अनुकूल बन्दै गएको छ ।

ई रातोखबर बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार