दाङ,माघ २५ गते ।
दाङमा चट्याङमा परेर तीन जनाको ज्यान गएको छ । तुलसीपुर र घोराहीमा शनिबार चट्याङमा परेर तीन जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका ७, नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि र त्यही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्यको ज्यान गएको हो ।
चट्याङ लागेर घाइते भएका चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै घोराही उपमहानगरपालिका ११ हापुरका सूर्यबहादुर पुरीका छोरा ८ वर्षीय ताराबहादुरको पनि चट्याङ लागेर ज्यान गएको छ ।
यस्तै बझाङमा १६ वर्षीय विद्यार्थी मृत फेला परेका छन्। जिल्लाको बित्थड चिर गाउँपालिका–५ मा रहेको जंगलमा करन सिँह महरको शव फेला परेको हो।
देवेश्वरी माध्यमीक विद्यालयमा कक्षा १० मा अध्यनरत उनी शुक्रबार साझ घरबाट हिडेको उनका बुवा शालिभान महरले बताए। शनिबार विहान घरबाट झण्डै १ सय ५० मिटरको दुरीमा रहेको जंगलमा रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बमले बताए।
शवलाई पोष्टमार्टमका लागी देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको उनले बताए।