काठमाडौँ,माघ १४ गते ।
नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा एमसीसी संसदबाट पास हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विवाद र बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् । दुनियाँको विकासको गतिलाई पक्रनलाई सरकार र सदनले आफ्ना कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने जिकिर गर्दै प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘हामी अलिकति विलम्बमा भएका छौँ । सभामुख चयनमा विलम्ब भयो । अब विलम्ब गर्नुहुँदैन । सरकार, संसदले कामहरु तीव्र गतिमा अगाडि बढाउनुपर्छ । नत्र हामी वास्तवमा पछाडि पर्छौं,’ संघीय संसदअन्तरगत प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नैछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ । छ–सात वटा प्रधानमन्त्रीको कार्यकालहरु गुजार्दै आएर संसदसमक्ष प्रतिक्षा रहेका एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् ।’
विकास, विज्ञान–प्रविधि, भौतिक पूर्वाधारजस्ता विषयमा विश्व तीव्र गतिमा अगाडि बढेको जिकिर गर्दै यो तीव्र गतिलाई पक्डन नसके हामी पछाडि परिने प्रम ओलीको भनाइ थियो । ‘ विकासको यस गतिलाई समाउन सकेनौँ भने हामीले समयलाई खेर फालेका हुन्छौँ हामीलाई समयलाई पर्खदैन ।’ उनले विकासको दिशामा देशलाई अगाडि बढाउने कामको नेतृत्व अहिलेको सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले देश अहिले राजनीतिक आन्दोलनको चरण पार गरेर विकासको चरणमा प्रवेश गरेको उल्लेख गरे । अबको एजेन्डा सुशासन र विकास हुनुपर्ने बताउँदै यसमा सबै दल एकताबद्ध अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै प्रतितिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले एमसीसी सम्झौतामार्फत नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग प्राप्त हुन लागेकाले उक्त सम्झौता तत्काल पारित गराउनुपर्ने बताएका हुन् ।
शुसील कोइराला प्रधानमन्त्री हुँदा नै एमसीसी आएको हो, यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको बिजुली भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने,’ सभापति देउवाले भने, ‘तत्काल एमसीसी संसदबाट पारित गर्नुपर्छ ।’
सभापति देउवाले धेरै ठुलो रस्साकस्सीका बावजुत सभामुख चयन हुनुभएको भन्दै नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदै कार्यकालभर आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताए ।