आज देशभर वर्षा सहित उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

  झझल्को न्युज डेस्क  358 पटक हेरिएको

पोखरा, माघ ३ गते ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरैजसो ठाउँमा बिहीबार रातिदेखि वर्षा जारी छ । काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा हुँदा चिसो बढेको छ ।

पोखरा उपत्यकामा बिहीबार विहान देखि वर्षा भएको छ । अहिले (शुक्रबार बिहान) सम्म वर्षा जारी नै छ । निरन्तर वर्षका कारण पोखरा आसपासका क्षेत्रमा हिमपात सहित जनजिवन प्रभावित बन्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षासँगै भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

नेपालको पश्चिमी भू भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ३ गते (शुक्रबार)
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै माघ ४ गते (शनिबार)

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भू भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै माघ ५ गते (आइतबार)
दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली भई पहाडी भू भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ। राति भने देशको पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार