५ औँ मिस तामाङ पोखरा शनिवार हुँदै

यो विशुद्ध सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो ।- पुर्व मिस तामाङ पोखरा कविता योञ्जन

  झझल्को संवाददाता : राजन साउद  1519 पटक हेरिएको

२ माघ २०७६, पोखरा  ।
पोखरामा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा २०२० हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष झौँ सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा यहि माघ ४ गते शनिबार पोखरा सभागृहमा हुने विहिवार पोखरामा पत्रकार सम्मलेन गरि जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दैँ समाजका अध्यक्ष ज्याक तामाङले मञ्जुश्री संवत २८५६ को अवसरमा आयोजना गर्न लागिएको ल्होसार म्युजिक फेस्टिभल को सातौं संस्करण र मिस तामाङ पोखराको पाचौँ संस्करण शनिबार हुन लागेको बताए । नारीलाई निकै महत्वपुर्ण स्थान दिने तामाङ जातीको छोरी चेलीहरुको व्यक्तित्व र नेतृत्व विकास गरि उनिहरुको प्रतिभालाई प्रस्फुटन गर्न हरेक वर्षझैँ यो वर्ष पनि बैदाम तामाङ सेवा समाजले विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ५ औँ मिस तामाङ पोखरा २०२० आयोजना गर्न लागेको उनले बताएका छन् ।

प्रतियोगितामा १७ जना प्रतियोगीहरुको सहभागिता रहेको छ । जसमा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ, कोमल तामाङ, आकृति भोलान, स्वस्तिका तामाङ, बिन्दु तामाङ, मनिषा गोम्जा तामाङ, रहेका छन् । यसैगरि शशीकला तामाङ, प्रिती तामाङ, रेनु तामाङ, सृजना तामाङ, अनु बल, भुमिका तामाङ, सुमिक्षा तामाङ, सलिना तामाङ र किस्मत तामाङ रहेका छन् । उनले सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व,नेतृत्व,भाषा,कला ,संस्कार ,इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइने बताएका छन् ।

यसैगरी कार्यक्रम मुल संयोजक पुर्व मिस तामाङ पोखरा कविता योञ्जनले यो विशुद्ध सांस्कृतिक सौन्दर्य प्रतियोगिता र अन्य सौन्दर्य प्रतियोगिता भन्दा यो भिन्न रहेको बताएकी छन् । उनले रुपमा हेर्दा सौन्दर्य प्रतियोगिता जस्तो देखिएता पनि गहिराईमा भने यो भाषा, संस्कृति र संस्कारलाई युवा पूस्ता माझ परिचय गराउनकै लागि यो कार्यक्रमको आयोजना गरिएको बताइन् ।

आधुनिकताको नाममा शहरिया युवा पुस्ता माझ बढ्दो साँस्कृतिक अतिक्रमणको चपेटामा परेका मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि यो कार्यक्रमले टवा पुग्ने आयोजकको विश्वास छ । प्रतियोगिताको प्रमुख निर्णायकमा कलाकार तथा नेपाल एयरलायन्सका क्याप्टन विजय लामा रहेका छन् भने चर्चित कलाकार सोनाम तोप्डेनको प्रस्तुति रहने छ ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी,प्रमाणपत्र सहित एउटा स्कुटर साथमा म्युनिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु पाउनेछन् । यस्तै फस्ट रनर अपले ताज, ट्रफी,प्रमाणपत्र सहित नगद रु ३० हजार, भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार प्राप्त गर्ने छन् । कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बामा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताएका छन् ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार