पोखरा, पौष २९ गते ।
नेपाल संवत् ११३१ देखि हुदैँ आएको मिस नेवा: पोखरा प्रतियोगीताको आठौँ संस्करण माघ १२ देखि पोखरामा सुरु हुने भएको छ । नेवारी समुदायको भाषा,कला र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले नेवा खलः कास्कीको आयोजनामा हुने भएको हो ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दैँ प्रतियोगिताका संयोजक विमल श्रेष्ठले प्रत्येक वर्ष हुदैँ आइरहेको मिस नेवा पोखरा यस वर्षदेखि २ वर्षको एक पटक गर्ने निर्णय बमोजिम प्रतियोगिताको फारम आवेदन पुष २० देखि माघ १० गतेसम्मको लागि खुल्ला गरिएको बताएका छन ।
उनले प्रतियोगितामा १६ देखि २२ बर्ष उमेर समुहका एसइई उत्रिण गरेका युवतीहरुले भाग लिन पाउने भएकाले इच्छुक प्रतियोगिले समयमै फारम भर्न समेत आग्रह गरेका छन । फारम भर्दा दर्ता शुल्क ५ सय रुपैया लाग्ने भएको छ भने प्रतियोगितामा छनौट भए पश्चात सहभागिले आयोजकलाई पुनः ६ हजार रुपैया थप शुल्क तिर्नु पर्नेछ ।
प्रतियोगिताको अडिसन भने माघ १२ गते नेवा छे सभाहलमा हुनेछ भने प्रतियोगिताको फाइनल चैत्र ८ गते शनिबार पोखरा सभागृह हलमा हुने छ । प्रतियोगिताको अवधिमा तीन दिन काठमाण्डौं भ्रमण सहित तीन महिना प्रशिक्षण गराइने समेत उनले बताए ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले प्रतियोगिताको प्रशिक्षण माघ १७ गते देखि शुरु गरिने बताए । उनले प्रशिक्षणमा सहभागिहरुको व्यक्तित्व विकास र पोखराको चिनारी र नेवारी भाषा ज्ञान, नेवारी कला, संस्कार, चाडपर्व र संस्कृति बारे प्रशिक्षण दिने गरेको बताए । साथै उनले यो सुन्दरी प्रतियोगिता नभई भाषा, संस्कृति जोगाउने एउटा अभियान भएको बताए । प्रतियोगितामा एक सय ४९ जनाको सहभागीता रहेको उनले जनाए ।
प्रतियोगिताको फाइनल चैत्र ८ गते पोखरा सभागृह हलमा हुने प्रतियोगिताका विजेताले रु ४० हजार र गिफ्ट ह्याम्पर पाउने छन । यस्तै उपविजेताले २५ हजार, गिफ्ट ह्याम्पर र तेस्रोले १५ हजार र गिफ्ट ह्याम्पर साथै प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसमा उत्कृष्ट नेवारी भाषा ७ हजार यसैगरी भ्युअर्स च्वाइस, मस्ट ट्यालेन्ट अवार्ड ,बेस्ट पर्सनालिटी, बेस्ट फ्रेन्डली,बेस्ट स्माइल र फोटोजेनिक जनहि ५ हजार सिहत प्रमाणपत्र पाउने अध्यक्ष पालिखेले बताएका छन ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैया खर्च लाग्ने आयोजकले जनाएका छन । उक्त प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न १७ वटा विभिन्न उपसमितिहरु गठन भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक अनिषा श्रेष्ठले बताइन्। मिस नेवाः ११३८ का विजेता प्रिति बुद्धाचार्य र फष्र्ट रनरअप प्रियका श्रेष्ठ हुन् ।