आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती,विभिन्न कार्यक्रम गरी मनाइँदै

  झझल्को न्युज डेस्क  93 पटक हेरिएको

नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो।

सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो। पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनुभयो। विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उहाँ पराजित हुनुभएको थियो। १८०१ मा नुवाकोटमा विजयी हुनुभयो। यसैगरी कीर्तिपुरमा पनि उहाँ दुई पटक पराजित हुनुभएको थियो।

विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो। अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गर्नुभएको थियो। यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उहाँसँग डराएका थिए। शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेख्नुभएको थियो। यसैगरी उहाँका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाउनुभयो। ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन्। जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो। पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार