१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन ३ देखि,७ हजार स्वदेशी बिदेशी खेलाडी सहभागी हुने

  झझल्को न्युज डेस्क  79 पटक हेरिएको

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी फागुन ३ गते १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

आज सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भूतपूर्व खेलाडी मञ्च पोखरा अध्यक्ष तेजबहादुर गुरुङले प्रतियोगिताम चीन, जापान, भारत लगायतका धावक सहभागी हुने जानकारी दिए। ‘म्याराथनमा दृष्टिविहीनदेखि शारीरिक अपांगता भएकालाई पनि छुट्टै व्यवस्था गरिएको उनले बताए।

यो वर्ष सफल पोखरा अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगिताको रुट भने परिवर्तन हुने भएको छ । आयोजकका अनुसार साँघरोे र असुरक्षित बाटो कारणले गर्दा रुट परिवर्तन हुने भएको हो ।

यस प्रतियोगितामा विभिन्न विधाहरुमा गरी २८ जना धावकहरुलाई नगद, पदक तथा प्रमाण– पत्रद्धारा पुरस्कृत गरिने भएको छ भने यस पोखरा म्याराथनमा १ मिनेटको उत्कृष्ट भिडियो क्लिप बनाएर पेस गर्ने व्यक्तिलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

म्याराथनमा प्रथम हुनले २ लाख, द्वितीयले १ लाख र तृतीय ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक अन्य विभिन्न विधा गरेर कुल ५ लाख ३२ हजार रुपैयाँ पुरस्कृत गरिने आयोजकले जनाएको छ । १० किमी पुरुष तथा महिलाको दुवै इभेन्ट्सतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारले पुरस्कृत गरिनेछ ।

५ किमी छात्र तथा छात्रामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार तथा ह्वील चियर पुरुष/महिला एवं दृष्टिविहीन पुरुष/महिला विधामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार दिइनेछ । आयोजकका अनुसार प्रतियोगिताको लागि ३५ लाख ३२ हजार खर्च हुनेछ । जसमा पुरस्कारमै ५ लाख ३२ हजार लाग्नेछ ।

लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरीको उत्पादन सफल दूधको प्रायोजनमा हुने सो प्रतियोगिको १ मिनेटको उत्कृष्ट भिडियो क्लीप बनाउनेलाई समेत पुरस्कार व्यवस्था गरिएको छ । म्याराथनले भिजिट नेपाल २०२० को समेत प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ । दौडमा भाग लिनेले फागुन १ सम्म दर्ता गरिसक्नुपर्नेछ ।

प्रतियोगितामा भाग लिन विदेशीले १० डलर, नेपालीले ६ सय र १ सय रुपैयाँ तिरेर नाम दर्ता गनुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार