मोडलिङमा लगाइदिने भन्दै भारत लगिएकी युवतीलाई बलि दिने तयारीमा रहेका ७ जना पक्राउ

  झझल्को संवाददाता  145 पटक हेरिएको

मोडलिङमा लगाइदिने भन्दै युवती बेच्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतमा लगेर युवती बेच्ने योजना बनाउँदै गरेको अवस्थामा उनीहरूलाई मोरङको बुढीगंगा गाउँपालिका १ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी पक्राउ गरि विहीवार सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरूबाट प्रहरीले नगद १ लाख ९ हजार ५ सय रूपैयाँ समेत बरामद गरेको जनाएको छ । यसका साथै सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक चाँदीको जन्तर २ थान समेत बरामद भएको छ ।

यसैगरी कृष्ण तामाङका नाममा रहेका विभिन्न बैंकले जारी गरेका ७ थान एटिएम तथा तान्त्रिक पूजाका सामग्री समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ। युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको प्रहरीले जनाएको छ ।

भारत बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली व्यक्तिहरुलाई परिचालन गरेको र युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनालाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पु¥याएर तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको हो ।

परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा धादिङकी प्रेममायाले म्युजिक भिडियोमा मोडलिङ गर्न ६ फिट उचाइ भएकी युवती चाहिने भनेर एक युवतीको हाइट नापेर विराटनगरमा रहेका उमेश शाहलाई पठाएर शाहको आग्रहअनुसार युवतीलाई विराटनगर हुँदै भारत लाने क्रममा पक्राउ गरिएको जानकारी दिएको हो ।

भारत लानुपूर्व काठमाडौँमा रहेकी पीडित युवतीलाई पक्राउ परेकाहरुले महिनावारी भए नभएको, घाउ भएनभएको तथा शल्यक्रिया भए नभएको सोधेका थिए । पक्राउ परेकाहरुले उक्त कुरा सोधेसँगै पीडित युवतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार