न्यानोका लागि विद्युतीय सामाग्रीमा उपभोक्ताको आकर्षण बढ्यो

काठमाण्डौ । यतिवेला देशैभर चिसो बढेको छ । राजधानीमा जाडो बढेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक समान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका छन् । तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिंदो समय र भित्रिदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढ्दो छ ।

चिसो मौषम, कस्लाई पो न्यायोमा बस्न मन हुँदैन र । मध्य पुषमा बढेको चिसोबाट बच्न उपभोक्ताहरु हिटर, गिजर, एसी लगायतका विद्युतीय सामाग्रीप्रति आकर्षित बनेका छन् । त्यसैले पनि यी व्यवसायमा सक्रियहरुलाई यतिवेला भ्याइ नभ्याइ छ । मङ्सिरको शुरूवातदेखि नै बढेको हिटरको व्यापार पुस महिनाको मध्यसम्म आइपुग्दा अझै बढेको छ । अझै हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको ब्यापारमा बृद्धि हुने व्यवसायीहरुको विश्वास छ ।

समयको विकाससँगै प्रविधिको प्रयोगमा पनि भिन्नता आउन थालेको छ । त्यसैले पनि आधुनिक प्रविधियुक्त हिटरको ब्यापार बढेको छ । अहिले बजारमा ग्यास तथा विजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरु पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्यान हिटर समेत बजारमा उपलब्ध रहेको व्यवसायीहरु बताउँछन् । उनिहरुका अनुसार अहिले बजारमा ७ सयदेखि हजारौं मूल्य सम्मपर्ने हिटरहरु उपलब्ध छन् ।
नेपाली बजारमा भित्रिएका हिटरहरु धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरुबाट समेत आयात भइरहेको छ । यस वर्ष लोडसेडिङ नभएका कारण पनि विद्युतीय सामाग्रीको माग बढेको छ ।

व्यवसायीहरुले अघिल्लो बर्षको तुलनामा यसबर्षको जाडोमा ५० देखि ६० प्रतिशत सम्मको व्यापार बढ्ने लक्ष्य लिएका छन् । उनीहरुको अनुसार अहिले नेपाली बजारमा दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएका छन् । नाम र कम्पनी अनुसार मूल्य पनि फरक फरक रहेको व्यवसायीहरु बताउँछन् । बजारमा नक्कली सामानको बिगबिगी पनि छ । त्यसैले उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा सजग हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार