काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ काठमाडौँसँगै सातवटै प्रदेशबाट गरिने भएको छ ।
भ्रमणको शुभारम्भ जनवरी १ तारिखमा काठमाडौँस्थित दशरथ रङ्गशाला र सोही दिन सातवटै प्रदेशबाट पनि भ्रमणको शुभारम्भ गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्ष सफल बनाउन आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताए । ‘‘हामी पनि हाम्रो प्रदेशमा भएका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटकलाई आफ्नो प्रदेशमा ल्याउने छौँ’’, उनले भने, ‘‘सङ्घले पनि भ्रमण वर्षलाई सफल बनाउनका लागि प्रदेश सरकारसँग समन्वय गर्नुपर्छ ।’’
कार्यक्रममा प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले पर्यटनसँग सम्बन्धित कार्यक्रम आफूहरुले सञ्चालन गरिसकेको भन्दै भ्रमण वर्ष लक्षित कार्यक्रम सङ्घ सरकारको समन्वयमा गरिने बताए । कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशमा पर्यटक बढाउनका आकर्षित गरिरहेको बताए ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले भ्रमण वर्ष सफल पार्नका लागि भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्तरराष्ट्रिय उडान अवतरण हुनुभन्दा अगाडि दुई मिनेट भ्रमण वर्षबारे जिङ्गल बनाइने तयारी गरिएको बताए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले भ्रमणलाई लक्ष्य गरेर आठ कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भ्रमण वर्षमा सुरक्षालाई मजबुत गरिने बताए ।
गैरनेपाली आवासीय सङ्घका अध्यक्ष कुमार पन्तले भ्रमण वर्षको अवसरमा डिसेम्बर ३१ र जनवरी १ तारिखमा ८३ देशमा साइकल र कार (याली गरिने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्र लागिरहेको बताए ।
कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सबै नेपालीलाई भ्रमण वर्षमा आबद्ध गराइने बताए । उनले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर भ्रमणका कार्यक्रम तय गरिने समेत जानकारी दिए ।
उनले सबै नेपालीलाई प्रतिबद्धता गराएर नेपाल घुम्न आग्रह गरिने बताए । ‘‘नेपालको खाली नक्शामा आफू कहाँ जाने भनेर सबैलाई हस्ताक्षर गरेर भर्न लगाउछौँ’’, उनले भने, ‘‘अनि प्रतिबद्धता गरेअनुसारका ठाउँमा घुम्न आग्रह गर्छौँ ।’’