मेडिकल माफियलाई कारबाही गरेरै छोड्ने चिकित्सा शिक्षा सङ्घर्ष समितिको घोषणा (विज्ञप्ति सहित )

काठमाडौँ,१९ कार्तिक ;
चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ ।

समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकारसम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन् । समितिले डा गोविन्द केसीले शिक्षा क्षेत्र सुधारका लागि जारी राखेको आन्दोलनलाई पनि साथ दिने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि हालतमा अतिरिक्त शुल्क फिर्ता र समायोजन गराइछाड्ने र कानुनअनुसार यी मेडिकल भ्रष्ट, दलाल, माफिया र गुण्डाहरूलाई कारबाही गराइछाड्ने अठोट लिएको पनि जानकारी गराउँछौं ।’

संयुत्त, विज्ञप्तिमा भनिएको छ, ‘देशैभरिका मेडिकल शिक्षा अध्ययन गरिरहेका प्रगतिशील विद्यार्थीहरूको अथक प्रयासपश्चात् आज देशैभरिका मेडिकल विद्यार्थीले मेडिकल माफिया र मेडिकल भ्रष्टचारका विरुद्ध जीवनमरणको सङ्घर्ष चर्काएका छन् र सङ्घर्षबाट अत्तालिएका मेडिकल भ्रष्ट माफियाहरूले कहिले गुण्डा त कहिले प्रहरीलाई प्रयोग गरी विद्यार्थीको आन्दोलनलाई दबाउन दुष्प्रयास गरिरहेका छन् ।

आज हाम्रो कानुनी राज भएको राज्यमा विद्यार्थी दिनदहाडै गुण्डाबाट निर्ममतापूर्वक कुटिँदा र राज्यले नै गरेको निर्णय लागू नहुँदा, अझ ठाडै उल्लङ्घन हुँदा र चरम रूपमा भ्रष्टचार हुँदा राज्यको मौनता किन टुट्दैन रु यो प्रश्नले आज यी कलिला, भविष्यमा देश परिवर्तन गर्न सक्ने शक्तिको मनमा जरो मात्र गाडेको छैन, यो राज्य व्यवस्थाप्रति पनि मनमा चिसो प्रश्न उठ्न थालेको भान भएको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘जबसम्म मिति २०७२/०७३ देखि भर्ना शुल्क राज्यले आजसम्मको तोकेको अनुसार कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन हुँदैन तबसम्म विद्यार्थीले सबै कार्यक्रमहरू बहिष्कार गरी निरन्तर सङ्घर्ष चर्काउने, कानुनी राज्य भएको राज्यबाट कुनै पनि हालतमा अतिरिक्त शुल्क फिर्ता र समायोजन गराइछाड्ने र कानुनअनुसार यी मेडिकल भ्रष्ट, दलाल, माफिया र गुण्डाहरूलाई कारबाही गराइछाड्ने अठोट लिएको पनि जानकारी गराउँछौँ ।

साथै यो आन्दोलन मेडिकल शिक्षा लिइरहेकाहरूको मात्र नभई आम नेपाली जनताको भएको हुँदा हामी सम्पूर्ण मेडिकल विद्यार्थीले तपाईं बुद्धिजीवी, पत्रकार, कलाकार, देशभक्त, राष्ट्रसेवक कर्मचारी अग्रज एवम् साथीहरूलाई यो आन्दोलनलाई सहयोग गरी देशको स्वास्थ्य स्थिति र स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुग्ने किसिमको बनाइदिनहुन यसै पत्रकार सम्मेलनमार्फत अनुरोध गरिन्छ ।

विज्ञप्तिको पूर्णपाठ‘।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार