धनगढी, असोज १ ।
सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा घर–घरमा दिपावली गर्न आह्वान गरेको छ। असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो ।
बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिईएको हो।
सरकारले असोज २ गते सबै मन्त्रालय, निकाय, सरकारी कार्यालयले आ–आफ्नो स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाएर नगरको श्रृंगार र सरसफाई गर्ने, सबै कार्यालय र आम नागरिकको घरघरमा सरसफाई र दिपावली गर्ने तथा प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ।
असोज ३ गते ट्राफिक चौराहबाट धनगढी रंगशाला सम्म झाँकी सहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षारोपण गर्ने र गोदावरीमा पनि वृक्षारोपण गरिने भएको छ।
कार्यक्रमको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समिति गठन गरिएको छ भने चार वटा उपसमिति पनि गठन गरिएको छ।