विष्णु पौडेल भन्छन् – चुनाव जित्यौँ, अब जनताको मन जित्छौं

  रासस  381 पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको बताएका छन्।

नेकपा जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा उनले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया टुङ्गिएर सबै तहमा सङ्गठन निर्माण भएकाले पार्टीले विशिष्टता हासिल गरेको बताए।

कम्युनिष्ट पार्टीको हैसियत कुनै भगवानको कृपा होइन, हाम्रो एकता, त्याग र बलिदानको प्रतिफल हो, त्यसकारण हामीले हाम्रो इतिहासप्रति गर्व गनुपर्छ, उनले भने, पार्टीको नीति र नेतृत्वप्रति गर्व गर्ने अवस्था आएको छ। आवश्यक पर्दा स्वस्थपूर्ण आलोचना र रचनात्मक सुझाव दिन सकिन्छ।

पार्टीको बहुमत जुटाउन सबै क्षेत्र र तहमा सङ्गठनलाई बलियो बनाउन कार्यकर्ताले विशेष ध्यान दिनुपर्ने नेता पौडेलको भनाइ छ । गाउँ,नगर र प्रदेशमा निर्वाचित पार्टी नेतृत्वले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताउँदै उनले यसैका आधारमा बहुमत जुटाउन सहज हुने बताए।

हामीले तीनै तहका सरकारको नेतृत्व गरेका छौँ, हामीले जनताको मन जित्नेगरी काम गर्नुपर्छ, उनले भने। पार्टीको भविष्य सङ्गठनले गर्ने काममा भरपर्ने भएकाले विकास निर्माण र समाजवादको तयारीमा सबै सङ्गठनलाई परिचालित गर्न जरुरी बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार