पोखरा १३, जेठ ।
देशभरका बिभिन्न ठाउँमा शंकास्पद वस्तु भेटे संगै पोखराका विभन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको छ ।
एनसेलको कार्यालय नजिकै रहेको बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। आइतबार राति भेटिएको उक्त बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बम शक्तिशाली रहेका कारण डिस्पोजल टोलीले संयमताका पुर्वक समय लगाएर डिस्पोज गरेको छ । बम डिस्पोज गर्ने क्रममा सडक पारी रहेको लक्ष्मी होटलका ५ वटा झ्यालको सिसामा ६ वटा प्वालहरु परेका छन् ।
डिस्पोज गर्ने क्रममा आगोको ज्वालासहित मुस्लो निस्किएको थियो भने त्यसबाट निस्किएका छर्राले होटलमा सामान्य क्षति पुराएको हो । बम रातिको समयमा भेटिएपछी सुरक्षाकर्मीले उक्त स्थानमा आवतजावत बन्द गरेर रातभर निगरानीमा राखेका थिए ।
त्यसैगरी पोखराको इनोभेटिभ डेभलपमेन्ट एजुकेशन (आइडीई) एकेडेमीको मूल गेटमा शंकास्पद बस्तु भेटिएपछि डिस्पोजलका लागि नेपाली सेनाको टोली घटनास्थल तर्फ लागेको छ । एकेडेमीको मूल गेटमा कालो बस्तुमा तार बेरेको अवस्थामा बम जस्तो शंकास्पद बस्तु भेटिएको स्थानीयले बताएका छन् । वरपरका स्थानीयलाई अन्यत्र सारेर सुरक्षाकर्मीले उक्त स्थानलाई निगरानीमा राखेका छन् ।
उता कास्कीको नागडाँडामा समेत शंकास्पद बस्तु फेला परेको छ । नागडाँडाको सडकमा तारले बेरेको अवस्थामा शंकास्पद बस्तु भेटिएपछी सुरक्षाकर्मी उक्त स्थानमा पुगेका छन् ।
चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको भन्दै नेपाल बन्द आव्हान गरेको हो ।