काठमाडौं । विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको आँखा फुटेको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६ मा रहेको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको हो ।
विद्यार्थीको कुटाइबाट तामाङको देब्रे आँखा फुटेको हो । २२ वर्षीय विद्यार्थी छिरिङ तामाङको कुटाईबाट उनी घाइते भएका हुन् । अभिभावकमाथि जाइलागेका छिरिङलाई छुट्याउन जाँदा उनले प्रधानाध्यापकमाथि नै कुटपिट गरेका हुन् ।
छिरिङ विद्यालयबाट १०-१५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडि कतै लागुऔषध दुर्व्यसनीमा फसेको त होइन भन्ने विषयमा विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्न पुगेका थिए ।
सोही क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए । आक्रमण छुटाउने क्रममा उनले प्रधानाध्यापकमाथि नै आक्रमण गरेका हुन् ।