अमेरिकासँगको व्यापार वार्ता भाँडिएका बेला चिनियाँ राष्ट्रिय सी चिनफिङले नागरिकहरूलाई भविष्यमा आउने कठिन समयका लागि तयार हुन आग्रह गरेका छन्।
टुंगिन लाग्यो भनिएको अमेरिका(चीनबीचको व्यापार वार्ता डेढ साताअघि भाँडियो। वासिङ्टनमा भएको ११ औं चरणको वार्ता निष्कर्षमा नपुगेसँगै अमेरिकाले थप दुई सय अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार लगाएको छ। बदलामा चीनले पनि अमेरिकाबाट आउने थप ६० अर्ब डलरका सामानमा भन्सार थपेको छ। अघिल्लो साता चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई अमेरिकाले कालो सूचीमा राखेपछि परिस्थिति झन जटिल बन्दै गएको छ।
देशभित्र र बाहिरको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति सीले जुनसुकै कठिनाइको सामनाका लागि तयार हुन नागरिकलाई आग्रह गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
केही दिनअघि दक्षिणी प्रान्त जियांछीको भ्रमणका क्रममा सीले विगतका कठिनाइबाट पाठ सिक्न भनेको सिन्ह्वाले उल्लेख गरेको छ।
‘अहिले नयाँ लङ मार्चमा हामीले देशभित्र र बाहिरका थुप्रै खतरा र चुनौतीलाई जितेर चिनियाँ विशेषतासहितको नयाँ समाजवादका लागि नयाँ जित हासिल गर्नुपर्छ,’ सीले भने। सन् १९३४ अक्टोबरदेखि चियान काइसेकको क्वोमिनताङबाट जोगिन माओ त्सेतुङले कम्युनिष्ट पार्टीको लालसेनालाई चीनमा करिब ५ हजार माइल लामो हिँडेर यात्रा गराएका थिए। यो मार्च गर्न एक वर्ष बढी समय लागेको थियो। त्यसैलाई लङ मार्च भनिन्छ।
सीले लामो समय असर गर्न सक्ने त्यस्ता जटिल खाले अवस्थाबारे जागरूक हुनु पर्ने र अनेकौं कठिनाइको सामना गर्न तयार हुनुपर्नेमा पनि जोड दिएका छन्। सिन्ह्वाले त्यस्ता कठिनाइहरू के-के हुन भन्ने खुलाएको छैन नत अमेरिकासँगको व्यापार युद्ध नै उल्लेख गरेको छ।
पछिल्लो समय चीनले आफ्ना सञ्चारमाध्यमबाट अमेरिकाविरोधी र राष्ट्रियता झल्काउने सामग्री प्रकाशन प्रसारणलाई उच्च महत्व दिएको छ। समाचार पत्रले चीन अमेरिकासँग झुक्न नहुने विश्लेषण र विचार छापिरहेका छन् भने टेलिभिजन च्यानलहरूले जापानसँग भएको युद्ध, कोरिया युद्धमा अमेरिकासँग भएका घटनालगायतबारे बनेका चलचित्रहरू देखाइरहेका छन्।
विश्वका दुई ठूला अर्थतन्त्रबीचको यो व्यापार युद्ध अब कसरी जाला भन्ने विश्वव्यापी चासो भइरहेका बेला चिनियाँहरूले भने अमेरिकाविरोधी एउटा गीतलाई भाइरल बनाइरहेका छन्।
ब्लुमवर्ग समाचारपत्रका अनुसार ‘व्यापार युद्ध’ बोलको उक्त गीत केही दिनयता चिनियाँ सामाजिक सञ्जाल विच्याटमा भाइरल भइरहेको छ। यो गीत सन् १९६०को जापानविरोधी चलचित्र ‘टनेल वार’को एक गीतको लयसँग मिल्ने गरी बनाइएको छ।
पुरूषहरू पार्श्व स्वरबाट सुरू हुने गीतले भन्छ( व्यापार युद्ध१ व्यापार युद्ध१ उपद्रा चुनौतीसँग नडराऔं१ उपद्रा चुनौतीसँग नडराऔं१ प्रशान्त सागरमा एउटा व्यापार युद्ध जारी छ१ यदि अपराधी हामीसँग लड्न खोज्छ भने हामी उसले सोचेभन्दा नराम्ररी हराउने छौं।
‘चीनले अहिले भोगिरहेको अवस्थामा त्यतिबेलाको याद दिलाउन मैले टनेल वारको लय बनाएको हुँ,’ गीतका निर्माता तथा लेखक झाओ लियाङटियाङले भने,‘व्यापार वार्ता टुंगिएपछि केही गर्नुपर्छ भन्ने लागेर गीत लेखेको हुँ।’