पापड उद्योगबाट आत्मनिर्भर

 156 पटक हेरिएको

कञ्चनपुर । कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका भुवन कार्की पापड उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्नुभएको छ । तीन वर्षअघि उहाँले सञ्चालन गर्नुभएकोे खप्तड पापड उद्योगबाट वार्षिक रु २० लाखभन्दा बढीको पापड उत्पादन हुँदै आएको छ ।

पापड उत्पादन गर्नका लागि विगतमा भारतबाट ल्याउँदै आएको कच्चापदार्थ अहिले मेसिन खरिद गरेर स्थानीयस्तरमा नै तयार गरि पापड उत्पादन हुन थालेको उद्योग सञ्चालक कार्कीले बताउनुभयो ।

पापड बिक्री गरेर वार्षिकरुपमा रु सात लाखदेखि रु १० लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाई छ । कैलालीको अत्तरियामा चिया नास्ता पसल सञ्चालन गर्दै आएका बेला भारतीय व्यापारीबाट प्रेरणा लिएर घरमै थोरै पूँजीमा उद्योग सञ्चालनमा ल्याई आम्दानी गर्दै आएको उहाँले बताउनुभयो ।

यो उद्योगबाट उत्पादित पापड स्थानीय बजारसँगै, धनगढी, अत्तरिया, महेन्द्रनगर र पहाडी क्षेत्रका जिल्लामा आपूर्ति हुने गरेको छ । उद्योगबाट १० जनाले प्रत्यक्षरुपमा रोजगारीसमेत पाएका छन् । घरपरिवारले समेत उद्योगमा उत्पादनका लागि कार्य गर्दै आएका छन् ।

प्रदेशसभाका सदस्य महेशदत्त जोशीले घरेलु उद्योगले रोजगारी सिर्जना गर्ने भएकाले यसलाई बढावा दिइनुपर्ने बताउनुभयो । उहाँले उद्योगका लागि सहुलियत ऋण प्रदान गर्ने र विद्युत् लगायतमा अनुदान दिनका लागि कार्य अगाडि बढाइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार