स्थानीय तह कछुवा गतिमा : नीतिनियम बनाउँदैमा ६ महिना बित्यो

 285 पटक हेरिएको


विराटनगर । स्थानीय निर्वाचनअघि धेरै नगरपालिका थपिए । बजारक्षेत्र समेटिएका सबैजसो स्थान नगरपालिका घोषणा गरिए तर स्थानीयले ‘नगरवासी’ हुनुको सुविधा भने पाउन सकेका छैनन्।

चुनावपछि दुई दशकदेखि जनप्रतिनिधिविहीन भएका स्थानीय तहले नेतृत्व पनि पाए। विगतमा जनप्रतिनिधि नभएकै कारण विकास रोकिएको चर्चा थियो। अहिले सबै तहमा जनप्रतिनिधि रहे पनि विकासले गति लिन सकेको छैन।

प्रवृत्ति पुरानै
स्थानीय तहले सोचेजस्तो काम नगर्दा उदयपुरका बासिन्दाले पहिलेभन्दा फरक अनुभव गर्न पाएका छैनन्। ‘भौतिक पूर्वाधारको विकासमा केही प्रगति भएको छैन,’ चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुर सिवाइका राजेश राईले भने, ‘काम गर्ने तरिका अझ झन्झटिलो हुँदै गएको छ।’ प्रशासनिक काममा भने केही राहत मिलेको उनको भनाइ छ।

जिल्लामा बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी ४ नगरपालिका तथा रौतामाई, ताप्ली, उदयपुरगढी र सुनकोसी ४ गाउँपालिका छन्। सबैतिरको काम गराइमा खासै भिन्नता छैन।

‘पहिले कर्मचारी सदरमुकाम केन्द्रित थिए,’ ताप्ली गाउँपालिकाका सुरज रास्कोटीले भने, ‘अहिले जनप्रतिनिधि आएपछि कर्मचारी कार्यालयमै बसेका छन्, फरक यत्ति मात्र हो। विकास निर्माणका काम अघि बढेका छैनन्।’

सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको मुख्य क्षेत्र गाईघाट बजारको सडकमा खाल्डैखाल्डा परे पनि मर्मत नगरिएको स्थानीय सञ्जीता लुइँटेलले बताइन्। ‘झन्डै १७ वर्ष पहिले नगरपालिका घोषणा गरिँदा जस्तो थियो, अहिले पनि उस्तै हो।’

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ भने पहिलेको तुलनामा नगरमा भौतिक पूर्वाधार विकास निकै भएको बताउँछन्। ‘व्यवस्थित बसपार्क बनाएको छ, सडक नपुगेका ठाउँमा पुर्‍याइएको छ,’ उनले भने, ‘खानेपानी र बिजुली पनि विस्तार गरिएको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार