राजमार्गमा सिटीसफारी चलाउन रोक


दमक । सरकारले मुख्य राजमार्गमा सिटीसफारी चलाउन रोक लगाएपछि चालकहरु आन्दोलित भएका छन् । सिटीसफारीका कारण दुर्घटनाको जोखीम बढेको बताउँदै राजमार्गमा कुदाउन रोक लगाएपछि झापा, मोरङका चालकले रोजी रोटी गुम्ने भन्दै गुनासो गरेका छन् ।

विकल्प बिना ल्याइएको नियम नमान्ने बताएका चालकले शुक्रबार उर्लाबारीमा ‘गरि खान देउ’ भन्दै र्‍याली निकाले । सफारी चालकले आफूहरु दर्ता प्रक्रियाको दोहोरो मारमा परेको समेत बताएका छन् । नगरपालिका र यातायात विभाग दुबै ठाउँमा दर्ता गर्नुपरेको उनीहरुको भनाइ छ । स्थानीय ऐन २०५५ अनुसार टाँगा तथा ठेलागाडा नगरपालिकाले नै दर्ता गर्ने प्रावधान रहे पनि यसलाई गलत व्याख्या गरिँदा समस्या आएको मेची यातायात व्यवस्था कार्यालय प्रमुख जर्नादन भट्टराईले बताए । सफारी एउटा इन्जिन बाट चल्ने सवारी साधन भएकाले यसको दर्ता सवारी ऐन अन्र्तगत यातायात व्यवस्था विभागमा गर्नुपर्ने उनको भनाइ छ ।

नगरपालिकालाई बाटोको संरचना हेरेर निश्चित संख्यामा मात्र दर्ता गर्न अनुमती दिइएको उनको भनाइ छ । सडकमा अव्यवस्थित रुपमा गुड्न थाले पछि मुख्य राजमार्गमा कुद्न नदिने नियम ल्याएको उनले समेत बताए । मेची अञ्चलमा मात्र सिटी सफारी र टेम्पो ४ हजार ३ सय ८३ वटा दर्ता भएको यातायात व्यवस्था कार्यालयका खरिदार ईन्द्रकुमार राजव‌शीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार