म्यादी प्रहरी र नेपाल प्रहरीबीच झडप हुँदा १ म्यादी प्रहरी मृत्यु


सुर्खेत । कालिकोटमा म्यादी प्रहरी र नेपाल प्रहरीबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । म्यादी प्रहरीले रासन रकममा हिनामिना भएको गुनासो गरेपछि भएको झडपमा एक म्यादी प्रहरीको मृत्यु भएको हो । शुक्रबार दिउँसो सदरमुकाम मान्ममा भएको झडपमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको हो ।

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका घर भएका उनको टाउकोमा गोली लागेको थियो। उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो। रकम हिनामिना भएको विरोधमा आन्दोलनमा उत्रिएका म्यादी प्रहरमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएको स्थानीयले बताएका छन्।

झडपमा प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो। अवस्था नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाउनुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। झडपमा दर्जन भन्दा बढी म्यादी प्रहरी घाइते भएका छन्। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। झडपपछि सदरमुकाम मान्मको अवस्था तनावपूर्ण बनेको छ। आक्रोशित म्यादी प्रहरीले सदरमुकाममा रहेका प्रहरी बिट भत्काएका छन्। प्रहरीले दमन गरेको भन्दै म्यादी प्रहरीले प्रहरीका बिट तोडफोड गरेका हुन्।

यता अवस्थालाई नियन्त्रणमा लिने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आन्दोलन उग्र भएमा कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको बताए। अन्नपुर्ण पोस्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार