काठमाडौँ । निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्नेछ।
सचिव ज्ञवालीले केन्द्रसँगको एकता सकेसम्म छिट्टै गर्ने तयारीमा आफूहरु रहेको बताए। एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि शुक्रबार नै बस्ने योजना छ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका ती दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ। एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताबारे सहमति गरिएको निर्णय सार्वजनिक भएको थियो।