वीरगन्ज । वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पाँच दिनको नवजात शिशु छाडेर एक महिला गायब भएकी छन्।
आइतबार जन्मिएकी शिशुलाई अस्पालमै छाडेर बुधबार मध्यरात सुत्केरी महिला गायव भएकी हुन्। सर्लाहीको कवलासी नगरपालिका वडा नम्बर २ स्थित पिपरियाका किसन नन्दन मण्डलकी पत्नी २० वर्षीया ललितादेवीलाई आइतबार बिहान प्रसूतिका लागि अस्पतालमा भर्ना गरिएको थियो।
त्यही दिन दिउँसो १ बजे चिकित्सकले शल्यक्रिया गरेपछि ललितादेवीले छोरी जन्माएकी थिइन्। त्यसपछि चिकित्सकले सुत्केरी र नवजात शिशुलाई अति सघन उपचार कक्ष (आईसीयू) मा राखेका थिए। दुई दिन आईसीयूमा राखेपछि मंगलबार सुत्केरीलाई प्रसूति विभागको सामान्य उपचार कक्षमा राखेर चिकित्सकले नवजात शिशुलाई भने ललितादेवीकी आमा चन्द्रकला देवी र सासू तेतरी देवीलाई जिम्मा लगाएका थिए।
बुधबार राति साढे ८ बजेतिर ललिता देवीकी आमा र सासूले शिशुलाई आमाको दूध चुसाएर विभागको कक्षबाट बाहिर ल्याएर आफूसँगै राखेका थिए। राति ११ बजेतिर बच्चा रुन थालेपछि सुत्केरी आमा भएको कक्षभित्र जाँदा शय्यामा ललिता देवी नभेटिएपछि अस्पतालमा रातभर खैलाबैला मच्चिएको थियो।
‘दिदी (ललिता) कता गइन् भनेर अस्पतालको चारैतिर खोज्यौं। घर र आफन्त सबैतिर फोन गर्यौं तर केही अत्तोपत्तो छैन’, बिहीबार साँझ अस्पताल परिसरमा भेटिएका मनोज मण्डलले भने, ‘प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छौं।’ उनका अनुसार प्रसूति विभागमा बुधबार राति ड्युटीमा रहेकी सुरक्षागार्ड रीता कुमारी र अस्पताल प्रशासन केही थाहा छैन भनेर पन्छिरहेका छन्।
अस्पतालको शय्याबाटै आमा गायव भएपछि नवजात शिशु बिचल्लीमा परेको हजुरआमा चन्द्रकला देवीले बताइन्। ‘चारैतिर फोन गरिसक्यौं, कहीं पनि पत्ता लाग्न सकेको छैन। जीउमा अप्रेसन गरेको घाउ आलै छ। कहाँ गई होली मेरी छोरी ? , के गर्दै होली ? ’, नवजात शिशु काखमा लिएर अस्पतालमै बसेकी सुत्केरीकी आमा चन्द्रकलाले भनिन्, ‘एक त अप्रेसन गरेकी छोरी गायव भएको पीडा छँदै छ त्यसमा झन् यो दुधे बच्ची छिनछिनमा भोकाएर रुँदा मुटुमा काँडाले घोचेजस्तो पीडा महसुस भइरहेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।