काठमाडौं । प्रहरीले सवारी जाँच गर्ने क्रममा स्कार्पियोको पछाडि लुकाएर ल्याएको अवैध सामग्री वरामद गरेको छ। जाँचका क्रममा प्रहरी टोलीले लागूऔषधसहितका केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
लागूअौषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पुस ३ गते भारत मोतिहारी थाना रक्सौल घर भएका ३७ बर्षीय रमेश कुमारलाई बिभिन्न नियन्त्रित लागूऔषध सहित पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट प्रहरीले रमेशले चलाएको भारतीय नम्बर बिआर ५ टिएमपि २०१७/९७ को सेतो रङको स्कोर्पियो गाडीको पछाडिको सिटमा प्लाष्टिकको जेब्रा झोलाभित्र बिभिन्न पत्रिकामा प्याकिङ गरी ३५ वटा प्याकेटहरुमा लुकाई छिपाई राखेको नियन्त्रित लागूऔषध बुप्रिनर्फिन १२ सय एम्पुल, डाईजेपाम १२ सय एम्पुल र फेनारगन ११ सय एम्पुल गरी जम्मा ३५ सय एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका रमेश कुमार विगत लामो समयदेखि नेपाल–भारत सीमानाबाट बुप्रिनर्फिन, डाईजेपाम लगायतका नियन्त्रित लागूऔषध नेपाल भित्रयाई काठमाडौँ तथा अन्य प्रमुख शहरहरुमा आफ्नो सञ्जाल बनाई कारोबार गर्ने मुख्य व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।