चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

पत्नीले दिइन बहुविवाहको उजुरी

  झझल्काे संवाददाता  114 पटक हेरिएको

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनीहरुका बिरुद्ध छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले जिल्ला अदालत, काठमाडौंमा बहुविवाह सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन। उनले दर्ता गरेको मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालत, काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको पुष्टि गर्दै उनीहरु बारे महिला सेल, कालिमाटीले अनुसन्धान शुरु गरेको जानकारी दिए। प्रहरीले चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न खोजि गरिरहेको बताए पनि पक्राउ भने गरि सकेको छैन।

हेमाले दिएको जाहेरीमा लेखिएको छ, ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’

छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।

‘२०७५ साल पुष ११ गते निज विपक्षीहरु (छविराज ओझा र शिल्पा पोखरेल) ले गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी फेला परेपछि निजहरुले बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा म श्रीमती हुँदा हुँदै छोरी भन्न सुहाउने शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी हुँ’,

जाहेरीमा छविराज र शिल्पालाई कारवाहीको माग गर्दै लेखिएको छ, ‘निज मेरो विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय गरिपाऊँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार