आर्मीको तालिम लिन धोनी दुई महिना क्रिकेटबाट टाढा रहदै

  झझल्काे संवाददाता  76 पटक हेरिएको

एजेन्सी
भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले विश्वकप पछि सन्यास लिने धेरैको अनुमान थियो । तर धोनीले तत्काल सन्यास नलिने उनका म्यानेजर अरुण पाण्डेले बताएका छन् । धोनी आगामी दुई महिना क्रिकेटबाट भने टाढा रहने छन् । धोनीले दुई महिना भारतीय आर्मीको तालिम लिने बताइएको छ ।

३८ बर्षीय धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नेल पनि हुन् । शनिबार मात्र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आधिकारिक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन वटा टी–२० र एकदिवसीय सिरिजका लागि आफ्नो नाम फिर्ता लिएको उल्लेख गरेको छ ।

धोनी स्वयंले तत्काल क्रिकेट करियरबाट सन्यास नलिने पनि बताएका छन् । भारतले छिट्टै वेस्ट इन्डिजबिरुद्धको खेलका लागि नयाँ खेलाडी टोलीको घोषणा गर्न लागेको छ । टोलीमा नयाँ खेलाडीको आगमन हुने भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

यद्यपि भर्खर सकिएको विश्वकप पछि धोनीले अब छाड्नुपर्ने र युवा खेलाडीलाई मौका दिनुपर्ने चर्चा चलेको थियो । अघिल्लो साता इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतीय टोलीको आलोचनासँगै धोनीको सन्यासको कुरा चर्चामा आएको थियो ।

धोनी भारतलाई तीनवटा मुख्य प्रतियोगिताहरु टी–२० विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पिनयसिप ट्रफी जिताउने एक्लो कप्तान हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार